सुदूरपश्चिमाञ्चल विकास क्षेत्र, दिपायलको राजपुरमा (हाल सुदूरपश्चिम प्रदेशमा )अवस्थित क्षेत्रीय पशु सेवा निर्देशनालयको स्थापना वि.स २०४० सालमा भएको थियो।। वि.सं. २०४० देखि २०४८ सालसम्म छुट्टै निर्देशनालयका रूपमा कार्यरत रहेको यस कार्यालयलाई वि.सं. २०४९/०४/०१ देखि २०५२ सालको आषाढ मसान्तसम्म क्षेत्रीय कृषि विकास निर्देशनालयमा समाहित गरी सञ्चालन गरिएको थियो। तत्कालीन श्री ५ को सरकारको मिति २०५२/०३/०५ गतेको निर्णयअनुसार वि.सं. २०५२/०४/०१ देखि २०७५/०४/२२ गतेसम्म क्षेत्रीय पशु सेवा निर्देशनालयका रूपमा निरन्तर सेवा प्रवाह गर्दै आएको यस निर्देशनालय देश संघीय शासन प्रणालीमा प्रवेश गरेसँगै निर्देशनालयको स्वरूप तथा नाम परिवर्तन भएको छ ।नेपालको संविधान अनुसार संघीय संरचनामा पशुपन्छी तथा मत्स्य क्षेत्रको विकास, प्रवर्द्धन र सेवा प्रवाहलाई प्रदेशस्तरमा प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०७५/०४/२३ गतेको निर्णयअनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सुदूरपश्चिम प्रदेश, धनगढी, कैलालीको मातहतमा रहने गरी पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, दिपायल डोटीको स्थापना भएको हो।

यस निर्देशनालयले सुदूरपश्चिम प्रदेशमा पशुपन्छी तथा मत्स्य क्षेत्रको दिगो विकास, उत्पादन तथा उत्पादकत्व वृद्धि, व्यवसायीकरण, आधुनिकीकरण, प्रविधि हस्तान्तरण, रोग नियन्त्रण तथा गुणस्तरीय सेवा प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।हाल पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय मातहत कार्य गर्ने गरि प्रदेश सरकारको पशुपन्छी तथा मत्स्य विकास सम्बन्धी नीति, योजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्न प्रदेशका ९ वटै जिल्लामा रहेका ९ वटा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मत्स्य विकास केन्द्र गेटा कैलाली र पशु सेवा तालिम केन्द्र तारानगर कैलाली गरी जम्मा ११ वटा कार्यालयहरू संचालनमा रहेका छन्।